डोटी । जिल्लाको केआइसिंह गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । केआइसिंह–३ झिगाबस्तीस्थित बाजी भुलको दुईतले ढुुङ्गामाटोले बनेको घरमा खाना पकाउने क्रममा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।
आगलागीका कारण १० बोरा अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायत अन्दाजी रु दुई लाख ५० हजार बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भुलको आठ जनाको परिवारलाई अहिले आफन्तको घरमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई जानकारी दिए । आगलागीबाट मानवीय तथा पशुचौपाया क्षति नभएका भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।










