महोत्तरी । गहुँखेती लाउने समय घर्कँदै जाँदा बीउ नपाएर हैरान भएका महोत्तरीका केही भेगका किसानलाई राहत मिलेको छ । खेतबारी खनजोत गरेर तयार पारिसक्दासम्म भरपर्दो बीउ नपाएर हैरान भएका किसानलाई आफ्नो स्थानीय तहले उन्नत जातको गहुँको बीउ ५० प्रतिशत अनुदानमा पाएपछि राहत मिलेको हो । जिल्लाका मटिहानी र बर्दिबास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराएका छन् ।
“खेतबारी खनजोत गरेर तयार पा¥यौँ, भरपर्दो बीउ नपाएर छर्न पाइएको थिएन”, मटिहानी–६ का किसान नेमत अतुल्लाले भन्नुभयो, “अहिले नगरपालिकाले आधा मूल्यमा उन्नत बीउ दियो, अब दुई–तीन दिनमै छरिसकिन्छ ।” मटिहानी नगर कार्यपालिकाको कार्यालयको कृषि शाखाले नगर क्षेत्रका नौवटै वडाका नौ सय किसानलाई महोत्तरी कृषि ज्ञान केन्द्रले सिफारिस गरेको गौतम र विजय जातका उन्नत गहुँको बीउ वितरण गरेको हो । गहुँको बीउको निर्धारित मूल्य प्रतिकिलो रु ८५ मा अहिले किसानले ५० प्रतिशत अनुदानमा ४२ रुपैयाँ २५ पैसामै पाएका हुन् ।










