समय : ११:४० pm | बुधबार , वैशाख २३ गते २०८३

‘बीबी माइनस’ रेटिङसहितको सन्तोषजनक नतिजाले नेपालको साख र विश्वसनीयता बढायो : सीबीफीन 

तारा पौडेल | मंसिर १० गते २०८१

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले सार्वभौम साख मूल्याङ्कनमा बीबी माइनसको ग्रेड प्राप्ति नेपालका लागि सञ्जिवनी बुटी बन्ने जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै सीबीफीनले यस्तो जनाएको हो ।

अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’ द्वारा गरिएको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले ‘बीबी माइनस’ रेटिङसहितको सन्तोषजनक नतिजा प्राप्त गरेकोमा सीबीफीन अत्यन्तै गर्वित एवं उत्साहित भएको विज्ञप्तिमा उल्लेख छ ।

सीबीफीनले दक्षिण एशियाका अन्य मुलुकहरूमध्ये छिमेकी मित्रराष्ट्र भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम साख मूल्याङ्कनको प्राप्तिले नेपालको साख र विश्वसनीयता बढाउनुका साथै अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो स्थान भएको प्रमाणितसमेत गरेको जनाएकाे छ ।

यस मूल्याङ्कनले समग्र निजी क्षेत्रमा समेत विश्वासको वातावरण सृजना गरेको र लगानी विस्तार, कर्जा प्रवाह तथा पूँजी परिचालनको लागि ठूलो अवसर सृजना गरेको सीबीफीनको बुझाइ छ ।

त्यसैगरी, यस मूल्याङ्कनले बैंक/वित्तीय संस्थाहरूलाई बाह्य जगतबाट सहुलियत दरमा ऋण ल्याउन, पुनर्बिमा कम्पनीले अन्य देशमा व्यवसाय विस्तार गर्न, धितोपत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न, विदेशी बजारमा ऋण लिन/ऋणपत्र बिक्री गरी वित्तीय साधन जुटाउनका लागि सञ्जिवनी बुटीको कार्य गर्ने सीबीफीनले विश्वास लिएको छ ।

साख मूल्याङ्कनको क्रममा देखिएका कमीकमजोरीहरूलाई तत्काल सुधार तथा स्तरोन्नतिसहित मौजुदा नीति तथा वातावरणलाई अझ सहज एवं अनुकूल बनाउन, समग्र निजी क्षेत्रलाई साथमा लिएर मुलुकलाई लगानी केन्द्रको रूपमा स्थापित गर्न नेपाल सरकार तथा सरोकारवाला सम्पूर्ण निकायहरुबाट आवश्यक पहलकदमी तत्काल अगाडि बढाइनेमा सीबीफीन आशातीत रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्