त्रिशूली। जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भएको छ । निर्माण थालिएको आठ वर्षमा शीतभण्डार तयार भएसगैँ तरकारी र फलफूल राख्न सुरु भएको हो ।
हिमालय शीतभण्डार प्रालिका सञ्चालक माधव गजुरेलले विसं २०७३ मङ्सिरमा काम सुरु गर्दा दश हजार मेट्रिकटन क्षमतामा निर्माणको योजना थालिएको भन्दै सङ्घीयता कार्यान्वयनमा आएपछि बागमती प्रदेश सरकारको अनुदान सहयोगमा शीतभण्डार क्षमता घटाएर छ हजार मेट्रिकटन बनाइएको जानकारी दिए ।
हाल जिल्लामा सञ्चालित पाँच हजार मेट्रिकटन क्षमताका दुईवटा शीतभण्डार रहेकामा अहिले निर्माण भएको जिल्लाकै ठूलो रहेको गजुरेलको भनाइ छ । यहाँ उत्पादित आलु, तरकारी, फलफूललगायत सामग्री राख्न विगतमा ठाउँ अभावले चुनौती भइरहेकामा नयाँ निर्माण भएको शीतभण्डारले किसानलाई सहुलियत शुल्कमा सहज बनाएको शीतभण्डार सञ्चालक गजुरेलले बताए ।
‘आलु उत्पादनको लागि पकेट क्षेत्र मानिएको नुवाकोट र रसुवाका किसानले उत्पादन गरेको आलु शीतभण्डारको अभावले खन्ने वित्तिकै कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो’, सञ्चालक गजुरेलले भने, ‘सहुलियत शुल्कमा शीतभण्डारको व्यवस्था भएपछि किसानले भनेको मूल्य पाउने अपेक्षा लिएका छौँ ।’










