समय : ०४:२१ pm | शुक्रबार , वैशाख २५ गते २०८३

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान

अर्थ विशेष | कार्तिक १३ गते २०८१

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरात ऐतिहासिकस्थल मझुवागढी आवतजावत गर्ने पदमार्गमा नौ सय १८ खुड्किला छन्।खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरात ऐतिहासिकस्थल मझुवागढी आवतजावत गर्ने पदमार्गमा नौ सय १८ खुड्किला छन्।

मझुवागढी पदमार्गमा निर्माण गरिएको फलामे रेलिङसहितको खुड्किला मर्निङवाक गर्नेहरूका लागि सबैभन्दा उपयुक्त ठाउँ बनेको दिक्तेलका स्थानीयवासी एवं नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्रकुमार बजिमयले बताए।

करिब छ सय ५० मिटर लामो दूरीको मझुवागढी पदमार्गको दायाँ र बायाँ रहेको खाली जग्गामा विभिन्न प्रजातिका फूल रोपिएका छन्।

प्राकृतिक रूपमै पर्यटकीयस्थल मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने उद्देश्यसहित नगरपालिकाको नेतृत्वमा पदमार्ग दायाँ र बायाँ विभिन्न प्रजातिका फूलहरु रोपिएको हो। तीन वर्षअघि सुरु गरिएको ‘फूलैफूलको पहाड’ बनाउने अभियानअन्तर्गत रोपिएका बहुवर्षे फूल अहिले ढकमक्क फुलेका छन्।

मझुवागढी पदमार्ग आसपासका क्षेत्रमा लालीगुराँस, सुनाखरी, चाँप, जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपी सल्ला, जाइफूल, कपुर, पुवाले, मसला, असारे फूल, गुलाबलगायतका २० बजारभन्दा बढी बहुवर्षे फूलका बिरुवा रोपिएका छन्। मझुवागढीस्थित कालिका भगवती मन्दिर तथा बुद्धेश्वर महादेव गुफा आसपासका खाली जग्गामा पुग्ने पदमार्ग आसपासका ठाउँमा फूल रोपेर पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बनाउन तीन वर्षअघि पहल थालिएको हो।

मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेत समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलैफूलको पहाड’ बनाउने योजनाअन्तर्गत नगरपालिकाले बर्सेनि बजेटसमेत विनियोजन गर्दै आएको छ। मझुवागढी तथा कालिका भगवती मन्दिर सौन्दर्यकरणका लागि गत वर्ष प्रदेश सरकारबाट रु एक करोड ५३ लाख बजेटसमेत प्राप्त भएको थियो।

मझुवागढीलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थलका रूपमा विकास गर्न ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।

चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, वनभोज खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्नेलगायत व्यक्ति तथा समूह पुग्ने गरेका छन्। मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने नगरपालिकाको अभियान साकार बन्दै गएपछि धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यासमेत वृद्धि हुँदै गएको स्थानीयले बताएका छन्।

मझुवागढीमा वि.सं. १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ। हरेक वर्षको उँभौली र उँधौलीमा साकेला नाचिने मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निर्माण गर्ने भट्टी रहेको छ। गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ। त्यस्तै गढीको बीच भागमा मौली छ। उसबेला रणवीर राजाका रैतीहरूले दसैँ मान्नका लागि ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो। मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ।

गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ रहेको छभने गढीवरिपरि बम्कर घेरा रहेको छ। मझुवागढीको केही तल कालिका भगवती मन्दिर छ। भगवती मन्दिरमा अहिले पनि दैनिकजसो बाख्राको पाठी बलि दिने गरिन्छ। हिन्दू र किरात धर्मावलम्बीको सङ्गमस्थल मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायतमा मेला लाग्ने गर्दछ। मझुवागढीको पर्यटन विकासका लागि नगरपालिकाले सङ्घ तथा प्रदेश सरकारको सहयोगमा भौतिक पूर्वाधार निर्माणको काम गरिरहेको छ।

सर्वोच्च शिखर सगरमाथाका साथै उच्च हिमशृङ्खला तथा तराईका समथर भूभागको राम्रोसँग दृष्यावलोकन गर्न सकिने मझुवागढीमा विशेषगरी शुक्रबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ। बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको उत्तिकै चहलपहल रहने मझुवागढीमा सरकारी कार्यालय तथा शैक्षिक संस्था छुट्टी भएको समयमा अझ बढी पर्यटकको आवतजावत रहने स्थानीयले बताएका छन्।

मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी –१३ नुनथलामा पर्छ। त्यस्तै पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ। चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको बताइएको छ। समुद्री सतहबाट करिब दुई हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीबाट चारैतिरका गढी प्रष्ट देखिन्छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्